समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि माघ १९ मा छलफल हुने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि माघ १९ गते छलफल हुने भएको छ ।

शुक्रबार दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा नेकपा सांसंद अरुरुण नेपालले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सभामा पेस गरेका थिए । अविश्वास प्रस्ताव पेसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्दै प्रदेश सभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने जानकारी गराएका थिए ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले गत पुस १० गते ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेका थिए । नेता नेपालले अविश्वासको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा काम गर्न नसकेको आरोप लगाउँदै प्रदेशप्रति जनताको विश्वास स्थापित गर्नबाट चुकेको आरोप लगाएका थिए । अहिले सबैका सामु प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने अवस्थामा सरकार चुकेको नेपालले बताए ।

नेपालले प्रदेश सभामा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएकोसमेत जानकारी दिएका थिए ।

प्रदेश सभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस भएपछि नेपाली कांग्रेसले आफैं सरकार बनाउने विषयमा छलफल सुरु गरेको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा पार्टीका नेताहरूसँग जसले मुख्यमन्त्रीमा सहयोग गर्छ सोही नेकपासँग मिलेर जानुपर्ने प्रस्ताव राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *