समाचार

आधा परिवारले हिउँ र जाडो छल्न गाउँ छाडे

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँका आधा परिवारले गाउँ छाडेका छन ।

गाउँमा हिमपात शुरु भएसँगै उनीहरुले गाउँ छाडेका हुन ।

घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौं आइपुगेका छन ।

चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेका छन भने एक परिवार इलामको पशुपति बजार पुगेको छ ।

घुन्सा गाउँमा २८ घर परिवार स्थायीरूपमा बासोबास गर्दै आएको स्थानीयवासी पेमा शेर्पाले बताए ।

बाह्र परिवारले हिमपातसँगै जाडो छल्न गाउँ छाडेपछि १६ परिवार मात्र घुन्सा गाउँमा बाँकी रहेका छन ।

घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको प्रवेशद्वारमा पर्ने एक पर्यटकीय बस्ती हो ।

घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको बसोबास छ । यो गाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ ।

प्रत्येक वर्षको पुस, माघ र फागुन गरी तीन महिना गाउँलाई नै हिउँले छोप्ने गर्दछ ।

हिउँ परेपछि पग्लेर जाँदैन । सिसाजस्तै कडा बरफ बनेर जमिरहन्छ । पग्लिन एक महिनासम्म लाग्न सक्छ ।

तीन महिना हिउँ र चिसोका कारणले निकै कष्टकर समय बिताउनु पर्ने भएकाले हिउँ र जाडो छल्न प्रत्येक वर्ष घुन्सा छाड्ने गरेको शेर्पाले बताए ।

हिमाली क्षेत्र भएकाले यहाँ खेतीपाती हुँदैन । कञ्चनजङ्घा हिमालको प्रवेशद्वार भएकाले यहाँको मुख्य व्यवसाय पर्यटनसँग निर्भर रहेको छ ।

यस वर्ष कोरोनाका कारण कञ्चनजङ्घामा पर्यटक आउन सकेनन् । पर्यटक नआएपछि आर्थिक स्रोत जुटाउन नसकेको टासी तेन्जी शेर्पाले बताए ।

आर्थिक अभाव र केही चौंरी याक गोठ भएकाले यस वर्ष हिउँ र जाडो छल्न १६ परिवार जान नसकेको शेर्पाले बताए ।

१२ परिवारले संरक्षण ऋण तथा बचत सहकारीमा जम्मा गरेको बचत फिर्ता लिएर हिउँ र जाडो छल्न गएको उनले बताए ।

गत महिना संरक्षण ऋण तथा बचत सहकारीबाट घुन्सा गाउँका सहकारी सदस्यहरुले रु ११ लाख बचत फिर्ता लिएको सहकारीका वित्तीय सहजकर्ता अभिषेक केदेमलाई उद्धृत गर्दै राससले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *