काठमाडौं । विश्वभरि नै जबर्जस्ती सत्ता कब्जा गर्ने कम्युनिष्टको चरित्र भएको आरोप नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लगाए । ‘नेपालमा मात्रै होइन, विश्वभरि नै कम्युनिस्टहरूको यस्तै प्रवृत्ति छ, तर चाहे त्यो पार्टीको झगडाले होस्, चाहे व्यक्तिको स्वार्थले होस्, हामीलाई स्वीकार्य छैन,’ डा. महतले भने ।
प्रतिनिधिसभा विघटनको विरोधमा टोखामा कांग्रेसले गरेको कार्यक्रममा सहमहामन्त्री डा. महतले नेपालमा कम्युनिस्टलाई बाध्य बनाएर जनताको अभिमत लिएर मात्रै सत्तामा पुग्नुपर्ने व्यवस्थामा ल्याएको बताए । ‘विश्वभर जहाँ कम्युनिस्ट सत्ता छ, त्यहाँ निर्वाचित हुने प्रणाली नै छैन,’ उनले भने, ‘नेपालमा कांग्रेसका कारण चुनावबाट जनमत लिएर सत्तामा जाने व्यवस्था ल्याएको हो । चुनाव हुने व्यवस्था नै कांग्रेसले लडेर ल्याएको हो ।’
जनता उपयोगी वस्तु मात्रै भएको कम्युनिस्टहरूको मान्यता रहेको आरोप उनको छ । ‘ठूला नारा लगाउने, तर काम नगर्ने चरित्र कम्युनिस्टको हो,’ उनले भने, ‘यदि कुरा गर्न, गफ गर्न प्रतिस्पर्धा गर्ने हो भने उहाँहरूलाई कसैले पनि जित्न सक्दैन । उहाँहरूको भाषण हेर्दा देश चलाउने नेता होइन, कमेडियनजस्तो लाग्छ ।’
डा. महतको पूरै भाषण चुनावलक्षित थियो । उनले कम्युनिस्टहरूभन्दा कांग्रेस देशको समृद्धि र विकासका लागि धेरै उत्तम भएको दाबी गरे । ‘राजनीतिलाई मनोरञ्जन गर्ने अखडा बनाउने कि देश बनाउने माध्यम बनाउने ? अब यो तपाईंहरूको हातमा आउँदै छ,’ उनले भने, ‘विश्वका ९० प्रतिशत देशमा निर्वाचनबाट सरकार बन्छ, त्यहाँ सरकारमा कम्युनिस्ट छैनन्, नेपालमा मात्रै कम्युनिस्टले जितेका हुन् ।’
उनले केपी ओलीको सुखी नेपाली, समृद्ध नेपालको नाराले उनकै पार्टीका नेता र कार्यकर्तालाई मात्रै छोएको बताए । ‘अब नेपालमा ५० वर्षसम्म शासन गछौं, नेपालको कायापलट गर्छौँ भनेर भाषण गरे, तर त्यो दम्भ ३ वर्ष पनि टिकेन, हो कि जस्तो गरेर भाषण गरे, सुखी नेपाली र समृद्ध नेपालको नारा लगाए, तर नेता सुखी हुने, कार्यकर्ता समृद्ध हुनेबाहेक जनताले पाउने केही रहेनछ,’ उनले भने ।




