समाचार

सर्वोच्चमा सुनुवाइ सुरु, आधा घन्टाभित्रै बहस सक्न प्रधानन्यायाधीशको रुलिङ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आधा घन्टाभित्रै आफ्नो बहस सक्न रुलिङ गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएलगत्तै बुधबार प्रधानन्यायाधीश जबराले कानुन व्यवसायीहरुलाई आधा घन्टाभित्रै बहस सक्न रुलिङ गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट बहस थालेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बीचमै रोकेर प्रधानन्यायाधीश जबराले बहस नलम्ब्याउन भन्दै छिट्टै आफ्ना धारणा राख्न भनेका हुन् । प्रधानन्यायाधीश जबराले बहस चाँडै सकेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा छिटो फैसला सुनाउने संकेत दिएका छन् ।

एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय तोकेको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *