राजनीति

विश्वप्रकाश शर्माले सञ्चालन गर्ने टेलिभिजन शो ऐना प्रसारणमा आउँदै

काठमाडौँ । माघ ७ गते बुधवारदेखि टेलिभिजन शो ’ऐना’ प्रसारण हुने भएको छ । विश्वप्रकाश शर्माले सञ्चालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भए पनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ ।


सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै व्यापक र खोजमूलक हुने निर्माण कम्पनीले जनाएको छ ।टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरूको मानवीय संवेदनशीलताको पक्षलाई उजागर गर्ने बताइएको छ ।


दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गत कार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो ।


देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवाल माथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरूको अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’ शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।


कार्यक्रम छायाङ्कनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनीको परिसरमा भव्य छायाङ्कन सेट निर्माण गरेको छ ।कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ ।

विदेशमा यस्ता खालका विषय बस्तुहरुमा सीमित टेलिभिजन शोहरु भएता पनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठुलो टेलिभिजन शो हुने ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गर्नुभयो ।


‘ऐना’को ’प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमन प्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *