काठमाडौं । माउ पार्टी नेकपा चोइटिएसँगै नेकपाको भ्रातृसंगठन नेपाल प्रेस संगठन पनि दुई चिरा भएको छ । प्रेस संगठनको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत छन् । दाहाल र बस्नेत अहिले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा छन् ।
प्रेस संगठनमा रहेका बहुमत सदस्यले आज (मंगलबार) प्रज्ञा भवन कमलादीमा दोस्रो बैठक राखेका हुन् । भेलामा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गर्ने भएका छन् ।
ओली निकट प्रेस संगठनले भने माघ ८ गते काठमाडौंमा दोस्रो भेला बोलाएको छ । प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले विज्ञप्ति जारी गरी भेला बोलाएका हुन् । संयोजक महेश्वर दाहालको हस्ताक्षर भने त्यसमा छैन । यसले गर्दा बस्नेतले बोलाएको भेलामा उनको असन्तुष्टि रहेको हुन सक्ने बुझिएको छ ।
अर्को प्रेस संगठनको भेला भने खिलबहादुर भण्डारीले बोलाएका हुन् । सोमबार जारी विज्ञप्तिमा उनकै हस्ताक्षर छ ।




