समाचार

प्रचण्डसँग लागेर माधव नेपालले पूर्वएमालेलाई धोका दिएको शंकर पोखरेलको आरोप

काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा नेपाल प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेलाई धोका दिएको दावी गरेका छन् । प्रचण्डसँगको सहकार्यबारे प्रश्न उठाउदै सो दावी गरेका हुन् ।


उनले आइतबार सामाजिक सन्जालमार्फत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर सहकार्यमा रहेको भन्ने नेपालको अभिव्यक्तिले तत्कालीन एमालेविरुद्ध घात भएन ? भन्दै प्रश्न गरेका छन् ।

‘माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तात्कालीक माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवादले गर्दा कमरेड यदु गौतमलगायत तत्कालीन एमालेका झन्डै ५०० कार्यकर्ताले जीवन बलिदान गर्नुभएको थियो । तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ ।

शान्ति प्रक्रियामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साँच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनुभएको हो भने त्यो पार्टीविरुद्धको घात भएन र कमरेड ?’’ उनले सोधेका छन् ।


पोखरेलले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न आफ्नै मान्यताविपरीत नबोलेको भए हुन्थ्यो भन्दै सुझावसमेत दिएका छन् । आफ्नै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा छिट्टै बिर्सिएको आरोपसमेत लगाएका छन् ।


‘विधि र पद्धतिमा जोड दिने तपाईंले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताविपरीत नबोलेको भए हुन्थ्यो । शान्तिप्रक्रियामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामै बाँधिएका हौं,’ उनले भनेका छन्, ‘त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपन्थविरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *