काठमाडौं । विश्व अहिले कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । हालसम्म २० लाख बढीले यो भाइरसबाट ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना भाइरस केबाट फैलिएको भन्ने खुलेको छैन । तैपनि सतर्कता अपनाउने काम भने भइरहेको छ ।
यसैक्रममा चीनबाट एउटा आश्चर्यजनक समाचार आएको छ। आइसक्रीमका केहि बट्टामा कोरोना पोजेटिभ देखिएपछि त्यस सम्बन्धमा अनुसन्धान सुरु भएको छ। चीनको टियांजिनमा आइसक्रीमका तीन बट्टामा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान सुरु गरिएको हो।
आइसक्रीमका बट्टाहरूमा कोरोना भाइरस पत्ता लागेसँगै अधिकारीहरूले हजारौं आइसक्रीमका डब्बाहरू वितरणमा रोक लगाएका छन्। चाइना डेली रिपोर्टका अनुसार टियांजिन डाकियाओदाओ फूड कम्पनीमा ४८ सय ३६ आइसक्रीमको बक्समा कोरोनाका भाइरस भेटिएको बताइएको छ। अनुसन्धान सुरु भइसके पनि उक्त कम्पनीका उत्पादनमा कसरी कोरोना भाइरस देखिए भन्ने बारे थाहा भइसकेको भने छैन।




