काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबार बसेको पदाधिकारी बैठक अधिकांशले बहिस्कार गरे । यो बहिष्कारसँगै जनवरीको अन्तिम साता संघले आयोजना हुने भनिएको विशेष महाधिवेशन अन्योलमा परेको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने एजेन्डाबारे सहमति गरेर आज आइतबारका लागि आइसीसी बैठक डागिएको छ । आइसीसी बैठकमा छलफलका एजेन्डा पठाउने उद्देश्यले हिजो शनिबार पदाधिकारी बैठक बोलाइएको हो। बैठकमा एनआरएनएका युरोप संयोजक नारायण आचार्यले २३-२४ जनवरीमा बोलाइएको विशेष महाधिवेशनका लागि कुनै पनि प्रक्रिया विधानसम्मत रुपमा पूरा नगरिएको बताएका थिए ।
उनले विधानभन्दा बाहिर गएर विधान व्याख्या समिति तथा विधान मस्यौदा समिति गठन गरिएको भन्दै सबैभन्दा पहिला त्यसको खारेजी हुनुपर्ने माग गरेका थिए । त्यसैगरी संघका मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली पनि आफुहरुले बुंदागत रुपमा राखेका कुराहरु कार्यान्वयन हुंदैनन् भने यो बैठकको औचित्य छैन भन्दै बाहिरिएका थिए।
संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङ, अफ्रिका संयोजक रोशन थापा तथा अमेरिकाज् संयोजक राजन त्रिपाठीले पनि बैठक बहिष्कार गरेका थिए। उपाध्यक्ष रबिना थापा बैठकमा अनुपस्थित रहिन् भने बहुसंख्यक पदाधिकारीहरुले बैठक बहिस्कार गरेको बैठकमा सहभागी एक पदाधिकारीले बताए ।
यसअघि संघको कार्यकारी सचिवालय (आइइएस) को बैठकबाट विधान पारित गराउने संस्थापन पक्षको प्रयास पनि असफल भएको थियो । कार्यकारी सचिवालयको बैठकमा एनआरएनए विधान समिति, विधान संशोधन सुझाव समिति र विधान ब्याख्या समिति तीनवटै समिति गैरकानुनी भएको र एनआरएनएको विधानले ती कमिटिहरुलाई नचिन्ने धारणा बैठकमा उपाध्यक्ष मन केसीले राखेका थिए ।
विश्व सम्मेलन सकिएको १५ महिनापछि कोरोना महामारीका बीच नयाँ डेलिगेट्सहरु मनोनयन गरेर, विधान संशोधनको एजेन्डासमेत थपेर, विशेष महाधिवेशन आयोजना गर्न लागिएको भन्दै त्यसको चर्को विरोध भइरहेको छ। तर अध्यक्ष कुमार पन्त तथा महासचिव डा. हेमराज शर्माले संघको निर्वाचन प्रणालीमा विभिन्न विकृतिहरु देखिएकाले विधान संशोधनको प्रक्रिया अगाडी बढाइएको बताउंदै आएका छन् ।




