समाचार

चैतअघिकै स्वरुपमा वाग्मती सफाइ महाअभियान

काठमाडौं । वाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुनथालेको छ । चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो ।

महाअभियानको ४०१औँ हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी भएका थिए। अभियानकर्मीसहित २०० जनाले वाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

गत हप्ता महाअभियानको ४००औँ हप्तापछि चैतअघिकै स्वरुपमा वाग्मती सफाइ हुनथालेको छ । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जानकारी पनि उनले दिए ।

विष्णुमती सफाइ अभियानको ३३३औँ हप्तामा तारकेश्वर नगरपालिका क्षेत्रमा सफाइ गरियो । तारकेश्वर सरसफाइ अभियानको अगुवाइमा नेपालटार चोकबाट लोकतान्त्रिक चोकसम्म सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । यसैगरी विष्णुमतीको माथिल्लो क्षेत्र सफाइ अभियान बूढानीलकण्ठ नगरपालिकाको पासिकोट क्षेत्रमा गरिएको छ । त्यस क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठका अगुवाइमा सफाइ हुँदै आएको छ ।

मनोहरा सफाइ अभियानको २००औँ हप्तामा काठमाडौँ महानगरपालिका– ३२ स्थित जडिबुटी पुल मनोहरा कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आज सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ शुरु भएको छ ।

वाग्मती सफाइ महाअभियानले देशव्यापी जागरणको स्वरुप ग्रहण गरेको छ । वाग्मतीको प्रेरणाले हाल देशका १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । मुख्य मुख्य शहर, नदी, पोखरी, कुण्ड ताल, तलाउ, सांस्कृतिक सम्पदा सफाइ अभियानमा स्थानीयवासी जुट्न थालेका छन् । महाअभियान शुरु भएपछि जाडो, गर्मी, भूकम्प, कोरोना महामारी, चाडपर्व कुनै पनि शनिबार सफाइ छुटेको छैन । अभियानकर्मी थोरै भएपनि सफाइले भने निरन्तरता पाउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *