पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ ।
मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा दुई अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् ।
अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेका थिए । स्कुटर चढेर हिँडेका दुई अपरिचित व्यक्तिले महिलाको झोला खोसेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका–११ पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुलाई फेला पारेका थिए ।
उनीहरुको साथबाट चोरी गरेको रु १९ हजार १ सय ३०, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कैँचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधिसमेत बरामद गरिएका कारण अभियुक्तले यस्तो औषधि प्रयोग गरी लुटपाट गर्दै आएको हुनसक्ने उनले बताए । छिमेकी बागलुङमा औषधि सुँघाएर लुटपाट भएका घटना यसअघि सार्वजनिक भएका थिए ।




