समाचार

उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा ल्याइने

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हालेका छन् । उनको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ । गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका न्यौपानेलाई उदययुर सिमेन्ट उद्योगमा चारवर्षे कार्यकालका लागि महाप्रबन्धका रुपमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

उनले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना रहेको बताए ।

यसैगरी उनले वैकल्पिक ऊर्जा, उद्योगका नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताए । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगका कामदार र कर्मचारीलाई उत्प्रेरणात्मक सीप अभिवृद्धिमुखी तालीम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने, वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटको मिश्रण गर्न सकिनेतर्फ पनि अध्ययन गर्नेलगायतका योजना अघि सारेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । उक्तमध्येमा न्यौपानेलाई नियुक्त गरिएको हो । सिफारिस समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण विंडारी रहेका थिए ।

न्यौपाने नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ, नेपाल बार एसोसिएसनमा सदस्य, नेपाल अटो मोबाइल्स सङ्घ नाडामा महासचिवसमेत भइसकेका छन् । यसैगरी नागरिक ट्रस्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पताल जस्ता सामाजिक संस्थामा आबद्ध छन् । उनी शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *