वासिंगटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार देशको अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरेका छन् । आर्थिक समस्यासँग जुधिरहेको अमरिकी अर्थतन्त्रलाई टिकाइराख्न बाइडेनको यो घोषणालाई महत्वाकांक्षी राहत योजना मानिएको छ ।
बाइडेनले आगामी बुधबार राष्ट्रपतिको सपथ लिएसँगै आफूले घोषणा गरेका राहत योजना कार्यान्वयनमा ल्याउन पहल सुरु गर्नेछन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयमा अमेरिकी तल्लो सदनले बहुमतले प्रस्ताव पारित गरेसँगै बाइडेनको प्रस्तावलाई महाअभियोगले छायाँमा पारेको छ ।
आफ्नो गृहनगर विलमिङटनमा बोल्दै बाइडेनले ‘अमेरिकीहरुले चाँडै पुनरागमन गर्ने’ विश्वास व्यक्त गरे। उनले अमेरिकी समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्न र एक ठाउँमा ल्याउन हामी सबै अमेरिकी एकसाथ उभिनुको विकल्प नभएको बताए ।
अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् । तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पु¥याउने महत्वाकाँक्षी योजना पनि समावेश छ । साथै संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, कोभिड–१९ खोप लगाउने कार्यलाई व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने तथा गत महिना कङ्ग्रेसले पारित गरेको तर सिनेटले रोकेको प्रति परिवार २००० अमेरिकी डलर दिने योजनालाई स्वीकृति गर्ने रहेका छन् ।




