काठमाडौं । नेकपा एकता अभियानमा लागेका वामदेव गौतमलाई नेकपा (ओली समूह) का केन्द्रीय सदस्य महेश बस्नेतले काउन्टर दिँदै अब कुनै पनि हालतमा नेकपा एक नहुने बताएका छन् ।
ओलीका विश्वासपात्र मानिने बस्नेतले माउसुली र माउसुलीको चुँडिएको पुच्छरको तुलना गर्दै अब नेकपा एक हुनै नसक्ने जनाएका हुन् । उनले पार्टी एकीकरण गर्ने अभियान थालेका वामदेव गौतमतर्फ लक्षित गर्दै यस्तो काउन्टर दिएका हुन् ।
वामदेव अहिले ५०१ सदस्यीय एकता अभियान बनाएर नेकपा एकता गर्न लागिपरेका छन् । तर, उनलाई कसैले महत्व दिइरहेका छन् । ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढिसक्यौँ, माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ । छुट्टिएको पुच्छर एकछिन छटपटिन्छ, तर एकछिन पछि त्यो पनि सकिन्छ,’ विराटनगरमा युवा संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले भने ।
वामदेव अहिलेसम्म ओली र प्रचण्ड–माधव नेपाल समूहमध्ये कतै पनि खुलेका छैनन् । धेरैले उनी ओली नेकपामा जाने अड्कल गरेका छन् । श्रीमती र छोरालाई ओली नेकपामा पठाएर वामदेव नेकपा एकता अभियानमा लागेका छन् । उनी निकट नेताहरूका अनुसार वामदेव नेकपाका दुई समूहमध्ये जुन पक्षले सूर्य चुनाव चिन्ह पाउँछ त्यही समूहमा लाग्ने मनस्थितिमा छन् ।




