कोशी प्रदेश

चौंरी याक गोठ विस्थापित हुँदै

फुङ्लिङ । ताप्लेजुङ फक्ताङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाको पुर्ख्यौली पेशा चौँरी याक गोठ हो । उनको बाजेको पालादेखि नै चौँरी याक गोठमा चौँरी याकको छुर्पी र घीउ बनाउँदै आएको थियो । उनी विवाह गरेर छुटिँदा २० वटा याक बुबाले दिए । उनको अंश त्यही २० याक भयो ।

हिमाली बस्ती भएकाले यहाँ खेतीपाती हुँदैन । उनले पाएको २० चौँरी याकबाट ४५ वटासम्म पुर्याउनुभयो र गोठ विस्तार गर्दै गए । कञ्चनजङ्घा संरक्षण क्षेत्र घोषण भएपछि वन्यजन्तु मार्न नपाउने र वन्यजन्तुले घर पालुवा जनावार मार्न थालेका कारण चौँरी याक गोठ बेच्न बाध्य भएको उनले बताए । उनले अहिले आफ्नो पुर्ख्यौली पेशा नै परिवर्तन गरी गेष्ट हाउस सञ्चालन गरेका छन् ।

यसरी पुर्ख्यौली पेशा चौँरी याक गोठ छोड्ने पेमा शेर्पा मात्र होइन । टाँसी तेञ्जी शेर्पाले पनि पुर्ख्यौली पेशा चौँरी याक गोठ छोडेर होटल व्यवसायमा संलग्न भएका छन् । फलेटरका लाक्पा भोटियासँग केही वर्ष अगाडि ५० वटा चौँरी याकको गोठ थियो । संरक्षण क्षेत्र घोषणा भएपछि वन्यजन्तुले घरपालुवा चौँरी याक मार्न थालेपछि उनले पनि यो पेशा परिवर्तन गर्ने सोचमा पुगेका छन् । दिनदिनै हिउँ चितुवा, ब्वाँसो, भालु, बाघलगायत अन्य जङ्गली जनावरले चौँरी याक मार्न थालेपछि गोठ बेच्न बाध्य भएको उनको भनाइ छ । उनीसँग अहिले आठ फम्जो (भारी बोक्ने चौँरी) छन् ।

ताप्लेजुङ कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने हिमाली भेगका शेर्पा, भोटिया र गुरुङ समुदायको पुर्ख्यौली पेशा भनेकै चौँरी याक हो । पुर्खाले अङ्गाल्दै आएको पेशा भनैकै चौँरी याक गोठ भएको घुन्साका स्थानीयवासी केल्साङ शेर्पाले बताए । केही वर्ष अगाडि प्रत्येक घरमा चौँरी याक गोठ थियो । तर अहिले फले र घुन्सा क्षेत्रमा तीन घरले मात्र चौँरी याक गोठ छाडेको छैन् । अरु सबैले छोडिसकेको छ । एउटा याक रु ६० देखि ८० हजारसम्म खरिद बिक्री हुने गरेको उनले बताए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले हिउँ चितुवाले चौँरी याक मार्यो भने प्रतिचौँरी याक आठ हजारका दरले राहत उपलब्ध गराउँदै आएको छ । संरक्षण क्षेत्रभित्र ओलाङचुङ गोला, याङमा, घुन्सा र याम्फुदिन गरी चार हिउँ चितुवा समिति गठन गरेर प्रत्येक समितिमा कोष स्थापना गरिदिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताए ।

परिषद्का कार्यक्रम सहायक चितेन चेम्जोङले भने, “प्रत्येक हिउँ चितुवा समितिमा रु १५ देखि १८ लाखको कोष परिषद्ले स्थापना गरिदिएको छ । उनकाअनुसार हिउँ चितुवाले चौँरी याक खाएमा त्यही रकमको ब्याजले समितिले मूल्याकङ्न गरेर राहत उपलब्ध गराउँछ । एउटा याकको मूल्य रु ८० हजार पर्ने तर हिउँ चितुवाले मार्यो भने रु आठ हजार मात्र राहत उपलब्ध गराउने भएकाले यसको खासै औचित्य नरहेको फोलेटारका स्थानीयवासी लाक्पा फोटियाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *