समाचार

‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’

विराटनगर । ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७ आज यहाँ मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु बताउँछन् । योगले मानिसलाई निरोग मात्र नभइ दीर्घजीवी पनि बनाउने योग गुरुको भनाइ छ । सम्पूर्ण ब्रह्माण्डको ऊर्जा पृथ्वीतिर केन्द्रित भएका समयमा योग गर्न सकेमा मानिसको जीवन पद्धतिमा परिवर्तन आउने र यसका माध्यमबाट धेरै कुरामा सुधार आउने बताइएको छ ।

बिहीबार यहाँ आयोजित योगाभ्यासमा सहभागी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले निःशुल्क उपचार गर्ने पद्धति योगलाई जीवनमा उतार्नुपर्ने बताए । उनले भने,“ योग गर्दा मेरो शरीर फूर्तिलो भएको छ, कुनै पनि रोग लागेको छैन ।” मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले योग नियमित बनाउन सके व्यस्त जीवनलाई सहज एवं सरल बनाउन सकिनेमा जोड दिए ।

सुनसरी मोरङ सिंचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले व्यस्त मानिसका लागि योग निकै लाभदायी हुने बताए । जिल्ला आयुर्वेद केन्द्र मोरङका प्रमुख नेत्र बहादुर बस्नेतले योग र आयुर्वेद आपसमा जोडिएको र योगबाट धेरै बिरामीको उपचार हुने जानकारी दिए । जिल्ला आयुर्वेद केन्द्र सुनसरीका डा मुकेशकुमार सिंहले योगले क्रोध शान्त बनाउने बताए । योगाभ्यासमा सहभागी चन्द्रकिशोर विश्वास र विनिता रेग्मीले योग गर्दा सुरुमा अप्ठ्यारो भए पनि पछि सहज हुने र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने अनुभव सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *