कोशी प्रदेश

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्नुपर्दा समस्या

खाँदबारी । सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । पच्चीस जना कैदीको क्षमता भएको कारागारमा १४३ जना कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन् । कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ ।

क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दीको सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नेसमेत समस्या हुने गरेको कारागारका चौकीदार परशुराम राईले बताए ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

भौतिक संरचना पर्याप्त नहुँदा कैदीबन्दीले बर्खायाममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङले गुनासो गरे ।

कारागारमा आपतलीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन छ । कारागारमाथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक पुर्याउन सकिएको छैन । कारागार जाने माथिको साइडमा सानो भिरालो सिँढी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ ।

आपतविपद पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *