धर्म/सस्कृति

कोरोना कहरले देवघाटमा स्नान गर्न आउनेको कमी

चितवन । हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या थोरै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।

अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच लाखभन्दा बढी हुने गरेका थिए । यस वर्ष भक्तजन तीन लाख हाराहारी हुने अनुमान गरिएको उनले जानकारी दिए । देशभर र भारतबाट समेत भक्तजन स्नानका लागि यहाँ आउने गर्दछन् ।

आज बिहान बेनीमा बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको छ। कोरोना कहरका कारण यस वर्ष तीर्थालु भक्तजनको सङ्ख्यामा कमी आएको हो ।

देवघाटमा आपतलीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारका लागि तयार अवस्थामा छ ।

पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजको दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *