काठमाडौं । देशमा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । अमेरिका, युरोपतिर कोरोनाविरुद्धको खोप धमाधम लगाउन थालिएको छ । तर, नेपालमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै चुनावको राग अलाप्दैमा व्यस्त छन् ।
सरकारले बुधबार मात्रै कोरोनाविरुद्धको भ्याक्सिन ल्याइदिन विदेशी र दातृनिकायसँग सहयोग मागेको छ । सूचना नै निकालेर भ्याक्सिन खरिद गर्न सहयोग मागेको हो ।
प्रधानमन्त्री केपी ओलीले २०औं अर्ब खर्च हुने गरी वैशाखमा आमनिर्वाचनको घोषणा गरेका छन् । बहुमतको प्रतिनिधिसभा विघटन गर्दै उनले देशलाई हरितन्नम बनाउन चुनावको डंका पिटिरहेका रहेका छन् । तर, अहिलेसम्म कसैलाई पनि वैशाखमा निर्वाचन हुनेमा विश्वास छैन ।
नेपाली कांग्रेसले सरकारले जनताको जीवनरक्षालाई बिर्सिएर भोटको मात्रै अपेक्षा गरेको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेन्टिलेटर किन्न पैसा नभएको बताउने सरकारले खोप ल्याउन सार्वजनिक रुपले चन्दाको विज्ञापन गरेकाप्रति आश्चर्य प्रकट गरेका छन् ।
‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय,’ प्रवक्ता शर्माले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको विज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ, तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’




