काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको पुनर्निर्माण तत्काल रोक्न माग गर्दैै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखेका छन् ।
काठमाडौं ४ बाट प्रतिनिभिसभामा निर्वाचित सांसद थापाले अहिले बनाउन लागिएको शैलीप्रति आपत्ति जनाउँदै तत्काल निर्माण रोकेर आफूहरूसहित सरोकारवालासँग छलफल राखी त्यसपछि मात्र निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।
प्राकृतिक सिमसारको स्वरूपसमेत नासिने गरी कमलपोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको नेता थापाले जनाएका छन् । कमलपोखरीको चारैतिर सिमेन्ट र ढुंगाको संरचना निर्माण गरी वास्तविक पोखरीलाई साँघुरो बनाउन थालिएपछि सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ भन्दै २०७६ असारबाट पोखरी निर्माणको काम थालेको थियो । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने भन्दै पोखरीको पानी सुकाइएपछि पोखरीमा रहेका हजारौं माछा मरेका थिए ।





