काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले भारतीय पत्रकार र मिडियाले फेरि एकपटक नेपालीको अपमान गरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिने भारतीय पत्रकार सुधीर चौधरीको सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको उनको भनाइ छ ।
ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोलीले सरगरमाथा आधार शिविर क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने र नाम ‘माउन्ट सिकन्दर’ राख्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले आफूलाई राष्ट्रवादी भन्ने प्रधानमन्त्री ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नांगिएका ओलीलाई त्यसको केही समयमै भारतको एउटा सञ्चारमाध्यमले नंग्याएको गुरुङले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘गोयलले प्रम ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्याएपछि निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिए। तर ओलीले कालापत्थर पुर्याएको जी न्युज टिमले ‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो।’




