समाचार

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुनेछ भने । “प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांग्रेसमा कुनै विवाद छैन”, उनले भने, “निर्वाचनको प्रसङ्ग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांग्रेसलाई शिरोधार्य हुनेछ ।”

उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने आग्रह गर्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाए ।

एक प्रश्नका जवाफमा उनले कांग्रेसको निर्वाचनको मुद्दा संघीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *