समाचार

भारतमा १६ जनवरीदेखि कोरोनाविरुद्ध खोप अभियान सञ्चालन, नेपालमा के हुँदैछ ?

काठमाडौं । भारतले जनवरी १६ तारिखदेखि आफ्नो देशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि धमाधम तयारी गरिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका तीन करोड मानिसलाई खोप दिने तयारी छ।
यसपछि ५० वर्षभन्दा माथि उमेरका तथा उमेर योभन्दा कम भए पनि विभिन्न रोगले ग्रस्त नागरिकलाई खोप दिइने मन्त्रालयले जनाएको छ। भारतमा यस्ता व्यक्ति २७ करोड रहेको अनुमान छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको कोरोना महामारीबारे समीक्षापछि खोप अभियान सुरु गर्न लागेको हो । भारतमा एस्ट्रेजेनेका र भारत बायोटेक भ्याक्सिनलाई स्वीकृति दिइसकिएको छ । यसका लागि भारतले धेरैअघिदेखि सुरुवात गरेको हो ।

तर, नेपालमा भने कोरोना भ्याक्सिनको प्रचार धेरै काम भने शून्य रहेको देखिएको छ । नेपाल सरकारले भारतबाट ६० लाख भ्याक्सिन खरिद गर्ने तयारी गरेको छ । तर, त्यो खोप कहिलेसम्म आउँछ भन्ने यकिन छैन ।

यो वर्ष नेपालीहरूले कोरोनाविरुद्धको भ्याक्सिन लगाउन नपाउने निश्चित भएको छ । रुस, चीन, अमेरिका, बेलायतलगायतका मुलुकहरूले आफ्ना जनतालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको एक महिना बितिसकेको छ ।

नेपाल सरकारले आगामी चैत सम्ममा स्वास्थ्यकर्मीहरूका लागि भ्याक्सिन उपलब्ध गराउने भने पनि न खरिद प्रक्रिया अगाडि बढाएको छ, न भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको छ । खरिद प्रक्रिया पूरा गर्न कम्तीमा तीन महिना लाग्ने र भण्डारण गृह तयार गर्न कम्तीमा चार महिना लाग्ने बताइएको छ । राजधानी काठमाडौं उपत्यकामा दुई ठाउँको छनोट गर्नेबाहेक भण्डारण गृह स्थापनाका लागि सरकारले कुनै गृहकार्य अघि बढाएको छैन । स्वास्थ्य सेवा विभागमा एउटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को गरी दुई ठाउँमा खोप भण्डारण केन्द्र निर्माण गर्ने तय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *