समाचार

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा राहत वितरण

रसुवा । वन्यजन्तुको आक्रमणबाट अन्नबालीको क्षति व्यहोर्नु परेका किसानलाई बिहीबार राहत वितरण गरिएको छ । बँदेलबाट भएका अन्नबाली क्षतिको मूल्याङ्कन गराइ सरकारी मापदण्डअनुरूप लाङटाङ राष्ट्रिय निकुञ्जले रू तीन हजार ५ सयदेखि १० हजारसम्म राहत वितरण गरेको हो ।

राहत पाउनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नँबर ६ निवासी किप्पा सोनाम वाइबा, सानुकाजी श्रेष्ठ, दिनेश कुमार घले, रानीमैया तामाङ, पायम छोवाङ तामाङ रहेका छन् । सोहि गाउँपालिका वडा नम्बर ५ का खाम्सुङ तामाङ र वडा नम्बर ३ का दावा नुर्पु तामाङले समेत राहत प्राप्त गरे ।

गत भदौमा जङ्गली बँदेलले खेतबारीमा लगाएका मकै तथा आलुमा क्षति पु¥याएको भन्ने निवेदन उपर छानविन गरी राहत प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । मध्यवर्ती समूह गठनसम्बन्धी विषयमा पदाधिकारीलाई ऐन कानूनको थप दिशाबोध गराउन आयोजित विशेष कार्यक्रमका अवसरमा प्रदान गरिएको राहतले वन्यजन्तु प्रभावित बासिन्दाको मनोवल उच्च रहेको कार्यक्रमका प्रमुख अतिथि गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

यस्तै स्थानीयस्तरको जन सहभागिता जुटाइ वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता संरक्षणको भूमिका निर्वाह गर्ने मध्यवर्ती समूहका पदाधिकारीको नयाँ छनोट प्रक्रिया आगामी माघ ६ गतेदेखि सुरू हुने प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । नीति नियमको अधीनमा रही गाउँ समाजमा बसोबास गर्ने आम उपभोक्ताको छलफलबाट रसुवा, नुवाकोट र सिन्धुुपाल्चोक जिल्लामा रहेका १ सय ९१ समूहका लागि ५ सय ७३ जना पदाधिकारीका लागि छनोट प्रक्रिया अगाडि बढेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

स्थानीय तहदेखि जिल्ला समन्वय समितिसम्मका जननिर्वाचित प्रतिनिधि, नागरिक समाज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षलगायत संरक्षण प्रेमीसमेतको सहभागितामा सम्पन्न भेलाले संरक्षण क्षेत्रमा पदाधिकारी छनोट गर्दा सबै व्यक्तिले आफ्ना राजनीतिक विचारधारा पर सारी निस्वार्थ भावले अगाडि बढ्ने प्रण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *