काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले नागरिक अगुवासँग सहकार्यको प्रस्ताव राखेको छ । प्रतिनिधिसभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका बुद्धिजीवीहरुसँग छलफल गर्दै आन्दोलनका लागि सहकार्यको प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री ओलीले हठात रुपमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेपछि अलग अलग भेला बैठक गरिरहेको प्रचण्ड–माधव समूहले संघर्षका आगामी कदमबारे बुद्धिजीवीहरुसँग धारणा मागेको छ । बिहीबार काठमाडौंको इन्द्रेणी होटलमा भएको अन्तरक्रियामा बुद्धिजीजीहरुले सरकारको कदमको विरोध गर्दै जनतामा जान सुझाव दिएका छन् । यस्तै, जनतामा जाँदा आफ्ना कमीकमजोरी र प्रतिवद्धता खुलस्त रुपमा राख्न पनि सुझाव दिएका छन् ।
कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समिक्षा गरी गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाव दिए । गलत कदम चाल्ने प्रधानमन्त्री केपी ओलीको पतन निश्चित भएको पनि बताए । आफू पतन हुँदै लोकतन्त्रलाई पनि पतन गराउने हो की भन्ने खतरा रहेको पनि पहाडीले बताए । यस्तै सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको स्पष्ट हुने पनि बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि दाहालले असंवैधानिक कदमको विरुद्धमा सबै दल एक भएर आन्दोलनका कार्यक्रम गर्न सुझाव दिए । सबै दल एक भए मात्रै संविधान र लोकतन्त्रको रक्षा गर्न सकिने उको भनाइ थियो। अधिकारकर्मी मोहना अन्सारीले स्वतन्त्र रुपमा नागरिकले बाँच्न पाउने अधिकार विस्तारै कुण्ठित हुने अवस्था आउन लागेको बताइन।
अहिलेको विकसित राजनीतिक घटनाक्रमले संवैधानिक संकटतर्फ देशलाई धकेलिरहेको बताए। अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले संसदले काम नगरे राजीनामा दिने ठाउँमा प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको बताए । प्रधानमन्त्रीमा देखिएको हठका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको बताए । पूर्व सभामुख दमननाथ ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञहरुलाई संझिएको भन्दै राजनीतिक दलहरुको प्रवृति माथि प्रश्न गरे । उनले प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने आफ्नै दलका नेताहरुलाई थाहा नहुने अवस्था कसरी भयो त्यसको जवाफ नेताहरुले दिनुपर्ने बताए ।
पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुक अस्थिरता तर्फ र संवैधानिक संकट तर्फ जाने खतरा बढेको बताए । राजनीतिक दलहरुले सरकारमा बसेको बेला पारदर्शी ढंगले सरकार सञ्चालन गर्छन वा गर्दैनन भन्ने कुरालाई हेरेर अवको दिनमा हुने आन्दोलनमा जनताले साथ दिने वा नदिने निर्धारण गर्ने बताए।




