समाचार

महावैमा खरको छानामुक्त अभियान

मान्मा । कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।

हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए । “पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नम्बर ७ र ८ यो अभियान सुरु गरेको छ”, उनले भने, “यो अभियान क्रमशः गाउँभरि लागु हुनेछ ।”

गाउँपालिकाभरि ३० प्रतिशत घर खरको छाना भएको र ती हटाउनका लागि गाउँ कार्यपालिकाको निर्णयानुसार खरको छानामुक्त अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताए । “यो कार्यक्रम संघ, प्रदेश र स्थानीय तह सबैले सञ्चालन गरेका छन्”, उनले भने, “गाउँपालिकाले तीनै तहका सरकारको सहयोगमा यो अभियान सञ्चालन गरिएको छ ।”

खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको उपाध्यक्ष शाहीले बताए । “खरका छाना भएका घर विपत्तिको जोखिममा छन्”, उनले भने, “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना राख्नेछौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *