कञ्चनपुर । कञ्चनपुरको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अस्थायी पोस्ट स्थानीय प्रशासनले हटाएको छ।
एसएसबीले दशगजा क्षेत्रमा एकलौटी रूपमा अस्थायी पोस्ट राखेको भन्दै स्थानीय प्रशासनले हटाएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत पिल्लर नम्बर ३४ देखि ३५ सम्म एसएसबीले राखेको अस्थायी पोस्ट हटाइएको छ ।
भारतीय पक्षले सीमा रेखानजिक अस्थायी पोस्ट स्थापना गरेको थाहा पाएपछि हटाइएको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले जानकारी दिए।
भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्न खोजेको स्थानीय हरिश पन्तले बताए। उनले भने, ‘तस्करी रोक्ने बहानामा भारतले पोस्ट राखेर नेपाली भूमि अतिक्रमण गर्न खोजेको थियो। हामीले भारतीय एसएसबीको त्यो कदमको विरोध गरेर पोस्ट हटाएका छौं।’
पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्ने पोस्ट राखेको दाबी गरेका थिए। विवादित क्षेत्रमा अस्थायी पोस्ट राखिएको पाएपछि हटाउन लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले भारतीय एसएसबीलाई अस्थायी पोस्ट हटाउन लगाएको थियो।




