मनोरञ्जन

“एउटा यस्तो प्रेम कहानी”गीत सार्वजनिक, फिल्म माघ १ देखि देशब्यापी प्रदर्शनमा 

काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेलभित्रको पर्यटकीय र व्यापारिक केन्द्रको रुपमा उदाउदै गरेको छायाँ सेन्टरमा वरिष्ठ नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको एउटा यस्तो प्रेम कहानी नामक चलचित्रको पोष्टर तथा टाइटल गीत सार्वजनिक भएको छ ।
चलचित्रका निर्माता, कलाकार, निर्देशक, गीतकार,संगीतकार,छाँयाकार,चलचित्र समीक्षक, पत्रकार र वितरकको उपस्थितिमा भएको उक्त कार्यक्रममा चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले पोष्टर सार्वजनिक गरेका हुन ।

कार्यक्रममा फिल्मको शीर्ष गीत “म तिम्रो आँखाबाट यो संसार देख्न चाहन्छु, म एउटा यस्तो प्रेम कहानी लेख्न चाहन्छु” सार्वजनिक प्रदर्शनी गरिएको थियो । आज रिलिज भएको शीर्ष गीतलाई विश्व नेपाली र अस्मिता परियारले स्वर दिएका छन भने यसमा संगीत वसन्त सापकोटाले दिए ।
सो कार्यक्रमलाई संबोधन गर्दै वरिष्ठ नायक श्रेष्ठले विश्वभर महामारीको रुपमा आएको कोरोनाको कारण नेपालको चलचित्र उद्योगले भोगेको समस्यालाई दृष्टिगत गरी चलचित्रको छायाँङकन र प्रदर्शन खुलाउन चलचित्रकर्मीहरुले ठूलो प्रयास गर्नुपरेको बताए ।
उनले कोरोना भाइरसको संक्रमणबाट बच्ने सावधानी अपनाउदै आम नेपालीलाई मनोरञ्जन दिने नेपाली चलचित्रहरु प्रदर्शन गरेर मनोरञ्जनको भ्याक्सिन दिन पाउदा आफूलाई निकै सन्तोष लागेको बताए।


नेपाली चलचित्रको भविष्य उज्ज्वल देखेर नै आफूले ४० बर्ष पहिलेदेखि यस क्षेत्रमा निरन्तर लागिरहेको बताउदै उनले भने, एउटा यस्तो प्रेम कहानी राम्रो फिल्म बनेको छ । यो चलचित्र निर्माणमा सहभागी सबैप्रति म आभारी छु ।

उनले अप्ठ्यारो समयमा चलचित्र प्रदर्शनको चाँजो पाँजो मिलाउने क्रममा पोष्टर र टाइटल गीत सार्वजनिक गर्ने कार्यमा सहयोग पुर्याएकोका छायाँ सेन्टरको प्रशंसा गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै निर्माता यशोदा राईले अभिनेता शिव श्रेष्ठले आफैले एक वर्ष लगाएर यसको कथा तयार पार्नुभएको बताए । उनले पनि पोष्टर प्रदर्शनी र टाइटल गीत सार्वजनिक गर्ने कार्यमा सहयोग पुर्याएकोमा छायाँ सेन्टर र एलफ्ट होटलको प्रशंसा गरेका थिए ।

यस चलचित्रमा नेपालका बरिष्ठ नायक शिव श्रेष्ठ,नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी,वर्षा राउत,संजोग कोइराला, बसुन्धारा भुसाल,आड.तेम्वा शेर्पा, मिथिला शर्मा, विष्णु चेम्जोड.,रेखा फागो, नरेन खड्का,ध्रुब कोइराला,प्रभु श्रेष्ठ, नवराज विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

यसै चलचित्रबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ,करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र निर्माता दिनेश दर्शनधारीका छोरा सम्यक दर्शनधारीले डेब्यु गरेका थिए ।
यस फिल्मको निर्मातामा शिव श्रेष्ठ, यशोदा राई तुम्बाहाम्फे र दिनेश दर्शनधारी हुन भने खुम तामाड.,सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर सह निर्माता रहेका छन ।

यस फिल्मको निर्देशन दीपेश सापकोटाले गरेका थिए । फिल्ममा वसन्त सापकोटा, अर्जुन पोखरेल, आनन्द कार्की तथा सन्तोष रजौरेको संगीत रहेको छ ।
फिल्मको वितरणको जिम्मा जी.जी.ग्रुप,बि.के.फिल्मस र एफ.डी.ले लिएको छ । फिसटेल मुभिज् प्रा.लिको ब्यानरमा बनेको यस चलचित्रको डिजिटल राईट ट्रि इन्टरटेनमेण्टले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *