दमाैली । अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा तनहुँको ब्यास नगरपालिका–५ चुँदेरमा खानेपानी योजना सुरु भएको छ । वर्षौँदेखि खोलाको पानी उपयोग गर्दै आएका यहाँका बासिन्दाका घरघरमा खानेपानी पुर्याउने उद्देश्यसहित रोटरी चुँदेर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो ।
रोटरी क्लब अफ दमौलीको सक्रियतामा सो ठाउँमा खानेपानी योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । “सो ठाउँको खानेपानी समस्या बारेमा जानकारी पाएपछि स्थलगत सम्भाव्यता अध्ययन गर्यौँ, अध्ययनले उक्त ठाउँमा खानेपानी योजना निर्माण गर्न सम्भव रहेको देखिएपछि योजनाको काम थालेका हौँ,” रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले भने ।
खानेपानी योजना निर्माणका लागि अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेटले रु ८४ लाख ८१ हजार ६ सय ६७ सहयोग गरेको छ । खानेपानी योजनाको डिपिआर स्मार्ट सिभिल कन्सल्टेन्सीले तयार गरेको थियो । खानेपानी योजनाको मंगलबार रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर किरणलाल श्रेष्ठ र ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्त रुपमा शिलान्यास गरे ।
रोटरीले सन् २०३० सम्म नेपालमा स्वच्छ खानेपानी सुविधा पु¥याउने उद्देश्यसहित सरकारी निकायसँग समन्वय गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको रोटरी क्लब ३२९२ का निवर्तमान गर्भनर श्रेष्ठले बताए । नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा रोटरी क्लबले सहयोग गर्दै आएको उनले जानकारी दिए ।
ब्यास नगरपालिकाका प्रमुख न्यौपानेले खानेपानी नभएका कारण बेँशी झरेका यहाँका स्थानीयवासी अब गाउँ फर्किँने विश्वास व्यक्त गर्दै खानेपानी योजनाका लागि सहयोग गरेकामा रोटरीप्रति आभार व्यक्त गरे । नगरप्रमुख न्यौपानेले नगरवासीलाई स्वच्छ खानेपानी सुविधा उपयोग गराउन नगरपालिका पनि लागिपरेको बताए ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पोख्रेलले रोटरीले नेपालको विभिन्न क्षेत्रमा पु¥याउँदै आएको सहयोग सकारात्मक रहेको बताए । ब्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले डाँडामा बस्ती र मुहान तल रहेका कारण चुँदेरमा वर्षौँदेखि खानेपानी समस्या रहँदै आएकामा योजना सम्पन्न भएपछि स्थानीयवासीलाई सहज हुने बताए ।
खानेपानी योजनाबाट ब्यास नगरपालिका–५ स्थित चुँदेर, रानीटारी र नेपालटारका २ सय २९ घरका एक हजार १ सय ८ जना लाभान्वित हुनेछन् । सो योजनाबाट २० घर दलित, १ सय २१ घर जनजाति, तीन घर मुस्लिम र ८५ घर अन्य जातजातिका मानिस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत् घरघरमा पानी वितरण गर्ने गरी डिजाइन गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६ सय २९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । योजनामा ३० मिटरको ट्रान्समिसन लाइन, ५ सय ८० मिटर वितरण लाइन निर्माण गरिनेछ भने तीन वटा मुहानमर्मत गर्नुपर्ने देखिएको छ ।
चुँदेरमा २० घनमिटरको ट्याङ्की निर्माण गरेर सोही ट्याङ्कीबाट रानी टारीमा पानी वितरण गर्ने योजना छ । दुई महिनाभित्र खानेपानी योजना सम्पन्न गरेर घरघरमा धारामार्फत् पानी पु¥याइने इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए ।




