काठमाडौं । गण्डकी प्रदेश सभा विशेष अधिवेशन सुरु भएको छ । नेकपामा देखिएको आन्तरिक विवादकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले उक्त अधिवेशन बोलाउन माग गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाएका हुन् ।
सत्तारूढ दल नेकपा विभाजनको असरस्वरूप अन्य केही प्रदेशमा सरकार ढाल्ने वा बदल्ने खेल देखिएको छ । तर गण्डकीमा त्यस्तो अवस्था नदेखिएपछि अधिवेशन बोलाउन सबै दल सहमत रहेको बताइएको छ ।
विशेष अधिवेशनमा कोरोना भाइरस संक्रमणको अवस्था, जनजीविकाका सवाल लगायत विषयमा छलफल हुने बताइएको छ ।प्रदेशमा कोरोना भाइरस महामारीका वेला प्रदेश सरकारले नागरिक उत्तरदायित्व बहन गर्न चुकेको, उचित उपचार नपाएर नागरिकहरूले अकालमा मृत्युवरण गर्न बाध्य भएको तथा जनसरोकारका अन्य विषय पनि सरकारले सम्बोधन गर्न नसकेकोजस्ता विषय उठाएर कांग्रेस र जसपाका सांसदले विशेध अधिवेशन आह्वानका लागि गएको मंसिर ३० गते निवेदन दिएका थिए ।




