मुख्य समाचार

प्रहरीले प्रयोग गर्ने गोली सर्वसाधारणसम्म कसरी पुग्यो ?

काठमाडौं । नेपाल प्रहरीले प्रयोग गर्ने गोली कसरी सर्वसाधरणसम्म पुग्यो भन्ने बारेमा प्रहरीनै अन्यौलमा रहेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जान लागेका बद्रिहाङ राईको सुरक्षा जाँच गर्दा पेस्तोलमा प्रयोग हुने गोलीको एक डब्बा फेला परेपछि नेपाल प्रहरीले प्रयोग गर्ने गोली भएको खुलेको थियो ।

विमानस्थलमा गोलीसहित मानिस फेला परेपछि प्रहरीले सो विषयलाई गम्भीर रुपमा लिँदै गोलीसहित फेला परेका झापा मेचिनगरका २० वर्षीय बद्रिहाङ राई र उनकी श्रीमती मुनादेवी राईलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

श्री एअरलाइन्सको विमानमार्फत झापाको भद्रपुर जान लागेका राईको ज्याकेटमा पेस्तोलमा प्रयोग हुने नाइन एमएमको ५० राउण्ड गोलीको एक डब्बा फेला परेको विमानस्थल सुरक्षा प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

उनले भने, ‘पेस्तोलमा प्रयोग हुने गोलीसहित एक दम्पत्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको गौशाला वृत्तमा पठाएका छौं ।’ प्रहरीका अनुसार सो गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको गोली हो। गौशाला वृत्तका सई पदम न्यौपानेका अनुसार विमानस्थलमा फेला परेको गोली नेपाल प्रहरीले प्रयोग गर्दै आएको हो ।

प्रहरीले प्रयोग गर्दै आएको गोली बद्रिहाङसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरीले जनाएको छ । प्रहरीले राई दम्पत्तिलाई थुना राखी अनुसन्धान गर्नका लागि अदालतबाट थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । सई न्यौपानले सात दिन हिरासतमा राख्ने अनुमति मागेर अदालतमा पेश गरिएको बताए ।

उनले अदालतले अनुमति दिएपछि अनुसन्धान शुरु हुने बताए । प्रहरीले दम्पत्तिलाई थुनामा राखेर अनुसन्धान शुरु गरेपछि उनीहरुले ती गोली कसलाई दिन लागेको हुन भन्ने बारेमा केही खुलाएको छैन । प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको प्रहरीको दावी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ जाँच गर्दा दर्ज्यानी चिन्हसहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली बरामद भएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *