काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनर्निर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनर्निर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी दिएको छ ।
विसं २०७३ चैत ३० गते दश अवतार मन्दिर पुनर्निर्माणका लागि प्राकृतिक÷सानुबाबु÷एसटी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७५ साउन १५ गते नै पुनर्निर्माण सक्नुपर्ने थियो ।
सुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई नै मन्दिर पुनर्निर्माणको जिम्मेवारी दिनुपर्ने जनाउँदै काम रोकेका थिए । केही समय काम रोकिएको भन्दै विभागले पहिलोपटक २०७६ असोज १५ गतेसम्मका लागि म्याद थप गरेको इञ्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए ।
यसबीचमा स्थानीयवासीको मागअनुसार निर्माणका केही पक्षमा संशोधन गरिएको थियो । पहिलोपटक थप गरिएको म्यादमा काम नसकेपछि विभागले दोस्रोपटक २०७६ चैत मसान्तसम्मका लागि म्याद थप गरेको थियो । कोरोना महामारीका कारण काम गर्न सकिएन जनाउँदै निर्माण व्यवसायीले २०७७ वैशाख २३ गते विभागमा निवेदन दिइ पुनःम्याद थपको माग गरेको थियो । निर्माण व्यवसायीकै मागअनुसार अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्मका लागि मन्दिर पुनर्निर्माण सम्पन्न गर्न म्याद दिइएको जनाइएको छ ।
चैत मसान्तसम्म पनि काम नसके कालोसूचीमा राखी कारबाहीको सिफारिस गरिने विभागका महानिर्देशक दामोदर गौतम बताउँछन् । कानूनी कारबाही गरेर मात्र मन्दिर पुनर्निर्माण नहुने भएकाले समय भएसम्म काम गराउने गरी प्रोत्साहन गरिएको उनले बताए । आइतबार महानिर्देशक उनले मन्दिर पुनर्निर्माणको अवलोकन गर्नुभएको थियो ।
तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पाएकामा पहिले काम गरेको कम्पनीले नसकी हाल अर्कोले काम गरिरहेको छ । रु तीन करोड ९२ लाख ७८ हजार ९ सय ६ लागत अनुमान गरिएकामा रु तीन करोड ७५ लाख नौ हजार ८ सय ५५ मा ठेक्का गरिएको थियो । हालसम्म पुनर्निर्माणको ५४.४७ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । पछिल्लो समय काठ नपाएर पुनर्निर्माणमा समस्या आएको छ ।




