काठमाडौं । सशस्त्र प्रहरीमा ६ जना डीआईजी बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । सशस्त्रमा सातजना डिआईजीको दरबन्दी रिक्त रहे पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका हुन् ।
डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङ छन् । सशस्त्रमा पहिलो वरियतामा रहेका एसएसपी खत्रीलाई तेस्रो नम्बरमा पुर्याइएको छ ।
सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएका थिए ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।
बढुवाका लागि कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यताबापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषणबापत २ अंक र बढुवा समितिले दिने अंकबापत ५ अंक दिन पाउने व्यवस्था छ ।




