काठमाडौं । स्थानीय तहमा कतिसम्मको स्वेच्छाचारिता रहेको छ भन्ने पुष्टि कन्काई नगरपालिकाको एक निर्णयले पुष्टि गरेको छ । झापा जिल्लाको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलका बुवाको निधन भएपछि नगरपालिकाले आज बिहीवार सार्वजनिक बिदा दिएको छ । पोखरेल पूर्वएमालेबाट निर्वाचित हुन् ।
नगरपालिकाले सूचना जारी गर्दै मेयरलाई पितृशोक परेकाले बिहीवार एक दिन सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ । पोखरेलका ८७ वर्षीय बुवा गणेशप्रसाद पोखरेलको पुस १५ गते निधन भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा बिहीबार कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।





