समाचार

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छः डा भट्टराई

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले देश निर्वाचनको वातावरणमा गइसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संसद्मा बहुमतप्राप्त प्रधानमन्त्रीको घोषणानुसार निर्वाचन हुने भएकाले राज्यका सबै संयन्त्र निर्वाचनको तयारीमा लागेको बताए ।

“सत्तापक्ष र प्रतिपक्ष पनि निर्वाचनको तयारीमा लागेका छन्, प्रमुख प्रतिपक्षले निर्वाचनको तयारीकै लागि निर्वाचन क्षेत्र केन्द्रित गरेर १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम गरेको छ, अब निर्वाचन हुँदैन कि भन्ने आशङ्कामा नजाऔँ, सबै निर्वाचनको तयारीमा लागौँ”, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा भट्टराईले भने ।

निर्वाचन आयोगले तयारीका लागि १ सय २० दिन चाहिने भनेकामा त्यसभन्दा बढी समय दिएर घोषणा गरिएकाले पनि समय पुग्दैन भन्ने प्रश्न नै नआउने डा भट्टराईको विचार थियो । बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीले चुनावको सिफारिस गर्दा जायज हुने तर नेपालमा नहुने होइन भन्दै उनले अहिलेको परिस्थितिमा चुनावको विकल्प नरहेको स्पष्ट गरे ।

नेपालको मूलधारका कम्युनिष्ट पार्टीको आन्दोलन रुस, चीन कसैका पनि पक्षमा नलागी नेपालकै परिवेशका आधारमा अघि बढेकाले हालै आएको चिनियाँ पक्षबाट यहाँको राजनीति प्रभावित नहुने उनको भनाइ थियो । चिनियाँ पक्ष निर्णय लाद्न नभइ यहाँको परिस्थिति बुझ्न मात्र आएको डा भट्टराईले बताए ।

केही संवैधानिक विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसलाई प्रभावित बनाउने गरी कसैले पनि गतिविधि गर्न नहुने उनको आग्रह थियो । जिम्मेवार नेताहरुले सभ्य भएर विचार राख्नुपर्नेमा पनि डा भट्टराईले जोड दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *