बागमती प्रदेश

कर्मचारीले गरेको मान र धैर्यतालाई कमजोरी ठाने आन्दोलनबाट अधिकार स्थापित गराउँने युनियनको चेतावनी

आफ्ना माग र मुद्दाका बारेमा मेयरलाई युनियनले पुन : स्मरण गरायो

काठमाडौं । स्थानीय तह कर्मचारी युनियन काठमाडौं महानगर इकाईले आफ्ना माग र मुद्दाका बारेमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई स्मरण गराउने भएको छ । गत जेठमा कर्मंचारी समायोजन, स्तरउन्नति क्षमता विकास र वृत्ति विकासमा समान अवसर, स्थायित्व र पेशागत सुरक्षा तथा हकहितका विषयमा मेयर शाक्यलाई पेश गरेको माग पत्र कार्यान्वयनमा नआएपछि असन्तुष्टि पोख्दै आएको युनियनले विगतका मुद्दाका बारेमा स्मरण गराउने भएको हो ।

मंगलबार केन्द्रीय अध्यक्ष नरबहादुर साउद, महासचिव रामप्रसाद पौडेल, कोषाध्यक्ष बाबुकृष्ण पाठक, सदस्य सर्वज्ञराज पौडेलसहित बसेको इकाईको बैठकले मेयर शाक्यलाई विगतका मुद्दाका बारेमा स्मरण गराउने र त्यसपछि पनि सकारात्मक प्रतिक्रिया प्राप्त हुन नसके आन्दोलनबाट अधिकार स्थापित गराउने निर्णय गरेको छ । बैठकमा इकाइका पूर्वअध्यक्ष धर्मराज भट्टराईलगायत अधिकारीहरु सहभागी थिए ।

हामीले जिम्मेवार भएर माग राखेका थियौं । हाम्रो यो शैलीलाई कमजोरी ठानिएको पनि हुन सक्छ । प्रदेश ३ का संयोजक एवं महानगर इकाइका अध्यक्ष शिवजी भट्टराई भन्छन – अब पनि हामी चुप रह्यौ भने अन्यायमा परेका कर्मचारी सधैं तल नै हुन्छन । उनीहरुको न्यायका लागि पनि हामीले अब कुर्र्सीमा बस्नेले सुन्ने भाषामा हाम्रा माग र मुद्दा उठाउँछौं ।

बैठकपछि प्रतिक्रिया दिँदै केन्द्रीय अध्यक्ष नरबहादुर साउदले कर्मचारी आन्दोलनमा महानगरबाट तरङ् आउने बताए । उनको भनाइमा थप्दै केन्द्रीय महासचिव रामप्रसाद पौडेलले भने -कर्मचारीको धैर्यतालाई कमजोरी ठानेपछि समस्या जटिल बनेको हो । यसबाट जटिल परिस्थिति सिर्जना हुनेवाला छ । त्यो परिस्थिति आउन नदिन जिम्मेवार अधिकारीले अहिले नै सोच्नुपर्छ । नत्र जटिल परिस्थितिको सामना गर्न तयार भएर बसे हुन्छ ।

बागमती प्रदेशका सचिव यज्ञराज घिमिरे (गोपाल) का अनुसार मेयर शाक्यलाई बुझाउने माग पत्रका बिषयमा सुझाव संकलन भइरहेको छ । प्राप्त सुझावलाई समेटेर उचित समयमा स्मरण पत्र बुझाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *