धर्म/सस्कृति

सामाजिक र सांस्कृतिक मूल्यमान्यतासहित आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छः दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् ।

‘तमु (गुरुङ) समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदै अध्यक्ष प्रचण्डले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गरेका छन् ।

संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको पनि प्रचण्डको भनाइ छ । उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः सङ्घर्ष गर्नुपर्ने बेला भएको जनाउँदै उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *