समाचार

अष्टलक्ष्मी शाक्य बन्दैछिन् बाग्मती प्रदेशको मुख्यमन्त्री ? बोलाइन् दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा दुई चिरा भएपछि प्रदेश सरकार अस्थिर भएका छन् । कुन मुख्यमन्त्री कहिले हट्ने हो निश्चित छैन ।

अहिलेसम्म बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राखिसकिएको छ । जसमध्ये प्रदेश १ को प्रदेश सभा बैठक माघ ७ गतेका लागि बोलाइएको छ । यस्तै, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि धरापमा परेको छ ।

बाग्मती प्रदेशकी प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् । नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी शाक्यले बाग्मती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन् । संसदीय दलको बैठक नबस्दा धेरै निर्णयहरु प्रभावित भएको भन्दै उनले पेरिसडाँडाको पार्टी मुख्यालयमा बैठक बोलाएको बताइन् ।

गत पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गरिएपछि प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरेका थिए । यदि डोरमणिविरुद्ध अविश्वासको प्रस्ताव पास भएमा शाक्य मुख्यमन्त्री बन्ने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *