समाचार

प्रचण्ड–नेपाल समूहले काठमाडौको सात स्थानबाट जुलुस निकाल्ने

काठमाडौं । विभाजित नेकपाको एउटा खेमाले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार काठमाडौं उपत्यकाका सात स्थानबाट विशाल जुलुससहित आमसभा गर्दैछ ।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेभएका छन् ।
आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ ।
सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने सो पार्टीका नेताहरुले जनाएका छन् । उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ । नेकपाका नेताका अनुसार टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन् ।
यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन् । मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन् । लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन ।
यस्तै विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्ने छन्। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *