बागमती । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १ सय ५ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १ सय ८८ मध्ये ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन कार्यालय मकवानपुरले जनाएको छ । सम्झौता गरेकामध्ये ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेको व्यवस्थापन कार्यालय मकवानपुरका प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।
जोखिम वर्गका ६१ घर पुनर्निर्माण
जोखिम वर्गका ६१ घर पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका २६ मध्ये २२ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्रमुख केपीले बताए । ६ सय २७ लाभग्राही जोखिम वर्गमा परेको र पाँच हजार ५ सय ७५ जनालाई साविकै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको उनले जानकारी दिए ।
भूकम्प प्रभावित एक हजार २२६ कक्षा कोठा पुनर्निर्माण
जिल्लामा हालसम्म कूल ३ सय ४ विद्यालयको एक हजार २ सय २६ कक्षाकोठा पुनर्निर्माण सम्पन्न भइ प्रयोगमा आएको जनाइएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका १ सय ३२ कक्षाकोठा निर्माणका लागि बोलपत्रको प्रक्रिया अगाडि बढेको, एशियाली विकास बैंकको ऋण सहयोगमा थप तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिए ।
उनले विद्यालय व्यवस्थापन समितिमार्फत निर्माणाधीन रहेका २ सय ५२ विद्यालय भवनको ७ सय ९३ कक्षाकोठामध्ये हालसम्म २ सय ५१ भवनको ७ सय ८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भइसकेको जानकारी दिए । यसैगरी जापानी सहयोग नियोग, जाइकाको ऋण सहयोगमार्फत निर्माणहुँदै गरेकामध्ये जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २ सय ७८ कक्षाकोठा निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको प्रमुख पाठकले बताए ।
त्यस्तै एसियाली विकास बैंकको नमूना विद्यालयतर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण भएको साथै तीन विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिमचरणमा पुगेको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २ सय १७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भइ निर्माण कार्य अगाडि बढेको छ ।
विंस २०७२ गोर्खा भूकम्पपछि जिल्लामा निजी आवास, विद्यालय संरचनालगायतको पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । सुरुका दिनमा केही समस्या देखिएको भए पनि समग्रमा सबैको सहयोग र समन्यवमा काममा उपलब्धि हासिल गर्न सकिएको उनको भनाइ छ । उनले जिल्लामा अब बाँकी रहेका पुनर्निर्माणको काम सकारात्मक रुपमा लागेर समयमै सम्पन्न गर्नुपर्ने बताए।
एक हजार कर्मचारी माग
बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पाँचौँ तहमा ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक हजार १ सय ५२ कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ ।
बागमती प्रदेशका चारवटा मन्त्रालय र विभिन्न जिल्लाका ६२ स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय तथा ६२ स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार आयोगले आन्तरिक तथा बाह्य जनशक्तिमार्फत रिक्त दरबन्दी परिपूर्ति गर्न लागेको हो ।
पाँचौ तहका लागि खुल्लामार्फत ५ सय ३८, ज्येष्ठतातर्फ ४ सय ७, कार्यक्षमतामार्फत १ सय ९६, आन्तरिक प्रतियोगितातर्फ नौ र कार्यसम्पादनमार्फत दुई जनाको पदपूर्ति गरिने उनले जानकारी दिए । यसअघि पहिलो पटक चौथो तहका ४ सय ६९ कर्मचारी माग गरेको आयोगले दोस्रो पटक ठूलो सङ्ख्यामा कर्मचारी पदपूर्ति गर्न लागेको हो । यसअघि प्रदेश सरकार र स्थानीय तहको माग फारामका आधारमा चौथो तहमा रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागि आयोगले गत मंसिर आठ गतेको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरेको थियो ।
आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा ३६ र आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाबाट ३६ गरी प्रशासनिक तथा प्राविधिकतर्फ चौथो तहमा ८१ जना पदपूर्ति गर्ने तथा खुलातर्फ ३ सय ८८ सहित महिला, आदिवासी जनजाति, मधेशी, दलित तथा अपाङ्गता भएकासमेत रहने गरी चौथो तहको रिक्त पदमा पदपूर्तिका लागि गरिएको विज्ञापन कार्यान्वयनको क्रममा रहेको जनाइएको छ ।




