राजनीति

सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् ।

नेकपा गण्डकी प्रदेश कमिटीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरे । विघटित प्रधिनिधिसभामा नेकपाका प्रमुख सचेतक गुरुङले भने, “सरकार बन्न नसकेका अवस्थामा बाहेक संविधानमा प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना गरिएको छैन, हामीलाई आशा र विश्वास छ, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सच्चाउने छ ।”

सो अवसरमा नेकपा नेता देवेन्द्र पौडेलले पार्टीको विधान र नियमावलीविपरीतका गतिविधि गर्न नहुनेमा जोड दिँदै संविधानको रक्षाका लागि आफूहरु आन्दोलित भएको बताए । प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रतिनिधिसभाको नियमित अधिवेशन आह्वान गरी बैठक चलाउन प्रदेश समितिको बैठकले माग गर्नेलगायत आठबुँदे प्रस्ताव पारित गरी बैठक सम्पन्न भएको जानकारी दिए ।

गण्डकी प्रदेश कमिटीका २ सय १६ सदस्यमध्येमा आफूहरुको बैठकमा १ सय १० जना बहुमत सदस्य प्रत्यक्ष उपस्थित भएको उनले जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *