काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मामा अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाल व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताए ।
मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिए ।
मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरे । मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेका छन् ।
नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताए ।




