समाचार

नयाँ शहर स्थापना प्राथमिकतामा : शहरी विकासमन्त्री साह

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

आज मन्त्रालयमा पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि विसं २०७४ मा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे । त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनको भनाइ थियो । “सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ”, उनले भने ।

गत असोज २८ गतेदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली पुस १० गतेको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए । सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो । ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

गौरवका आयोजनाका रुपमा रहेको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणले माघमा अन्तिम रुप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको सो अवसरमा उनले बताए । राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताए ।

विघटित प्रतिनिधिसभामा रौतहट ३ नं क्षेत्रबाट निर्वाचित मन्त्री साहले यसअघि पनि शहरी विकासकै कार्यभार सम्हाली सकेकाले अनुभवी मानिन्छन् । उनी विसं २०६४ देखिका सबै निर्वाचनमा रौतहट क्षेत्र नं ३ बाटै निर्वाचित हुँदै आएको उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *