काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उनको भनाइ छ ।
मन्त्री थापाले मन्त्रालयको आफ्नो यात्रा कति लामो हुन्छ भन्ने यकीन नभए पनि आफू रहँदासम्म सबैसँग मिलेर अघि बढ्ने बताए । उनले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गरे । राजनीतिक नेतृत्व आउने/जाने भए पनि कर्मचारीले स्थायीरुपमा काम गर्ने उनको भनाइ छ ।
आफू लामो राजनीतिक जीवनपछि पहिलोपटक मन्त्रीका रुपमा जिम्मेवारीमा आएको उनले बताए । उनले भने, “निर्वाचनको मिति नै तोकिएको अवस्थामा अहिलेको हाम्रो मुख्य जिम्मेवारी निर्वाचन गराउने नै हो ।”
मन्त्रालयका सचिव माधव बेल्वासेले खानेपानी मन्त्रालय संरचनागतरुपमा सानो भए पनि मौलिक हकमा उल्लेख भएका अधिकारको कार्यान्वयन गराउने जिम्मेवारी भएको बताए । खानेपानी र स्वच्छ वातावरणको हक कार्यान्वयन गराउने जिम्मेवारी भए पनि अहिले धेरै ठाउँमा पानीको स्रोत सुक्दै जानु चुनौतीका रुपमा देखा परेको उनको भनाइ छ ।
मन्त्रालयको जिम्मेवारीका रुपमा रहेको ढल व्यवस्थापनामा समन्वयको समस्या रहेको उनले औँल्याए । उनले भने, “समन्वयकै अभावमा कतिपय स्थानमा ढल निर्माण भइरहेकामा समेत त्यो रोकिएको छ ।”




