काठमाडौ । कञ्चनपुरमा नेकपाका २ समूहबीच भिडन्त भएको छ । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमा भिडन्त भएको हो । ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि विवाद चर्किएको हो ।
पार्टी कार्यालय परिसरको अवस्था विग्रिएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो। अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन्।
नेता भीम रावलको उपस्थितिमिा कञ्चनपुर पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले आज आइतबार साढे १२ बजे कार्यक्रम गर्ने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले कार्यालयमा ताला लगाएका थिए। पछि प्रचण्ड–नेपाल पक्षले ताला खोलेर कार्यक्रम गर्न खोजेपछि कार्यालय स्थलमा झडप को अवस्था भएको हो।




