समाचार

रामकुमारी झाँक्रीलाई कसले हत्याको धम्की दिँदैछ ?

काठमाडौं । सत्तारुढ नेकपा चोइटिएपछि अहिले नेताहरूबीच तिक्तता मात्र बढेको छैन, सांघातिक हमला हुने संकेत पनि देखिँदै गएको छ । केही दिनअघि प्रधानमन्त्री केपी ओली निकट युवा संघका नेता रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्ने सांसदलाई ढंगैढुंगाले हान्ने भिडियोमार्फत चेतावनी दिएका थिए ।

शनिबार मात्रै ओली निकट महेश बस्नेतले प्रचण्ड माधव नेपाल पक्षमाथि आगजनीदेखि हमलासम्मको खुलेआम चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीको हेडक्वार्टर बल्खु र धुम्बाराहीमा आँखा लगाए पेरिसडाँडामा आगो लगाइदिने धम्की दिएका छन् । उनले प्रचण्डमाथि हमला हुन सक्ने पनि बताएका छन् ।

यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियोमार्फत् उनले यस्तो जानकारी गराएकी हुन् ।

उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले देशलाई बर्बाद बनाएको आरोप पनि लगाइन् । संबिधानको चीरहरण गर्नेहरुलाई बालुवाटार र शीतल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् । उनले आफूमाथि ओली पक्षले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने संकेत गरेकी हुन् ।

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *