समाचार

लेखनाथ खानेपानी आयोजनाको स्रोत वृद्धि गरिने

कास्की । पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’ मार्फत २४ सै घण्टा खानेपानी पुर्‍याइने भएको छ ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नम्बर २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पुर्‍याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।

विसं २०५८ मा स्थापना भएको संस्थाले “मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी”को नारासहित १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका एक लाख ५० हजार जनसङ्ख्यालाई पानी वितरण गर्दै आएकामा बढ्दो शहरीकरणसँगै पानीको माग बढेको र अभावपूर्ति गर्न स्रोतको क्षमता वृद्धि गर्न लागेको हो ।

सबै उपभोक्ताको घरमा पर्याप्त पानी पुर्‍याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए । उनका अनुसार गिउँजेबाट हाल प्रतिसेकेण्ड ४८ दशमलव नौ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १ सय ५० लिटर प्रतिसेकेण्ड बनाउने र बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्नेछ ।

गिउँजेसहित लेखनाथका अन्य छ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक नौ हजार ७ सय ७४ घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताए । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । उनले भने, “हामी कहाँ ग्राभिटी खानेपानी र भूमिगत गरी दुई थरीको खानेपानी प्रणाली रहेकामा बढ्दो शहरीकरणका कारणले पानीको माग दिनहुँ वृद्धि भएपछि क्षमता वृद्धि गर्ने योजना अघि बढाएका हौँ । नेपाल सरकार र संस्थाको लगानीमा क्षमता वृद्धि गरी एक वर्षभित्रमा हालको भन्दा तेब्बर क्षमतामा पानी ल्याएर अभाव हुन दिँदैनौँ ।”

सो आयोजनाका लागि रु एक अर्व लगानी हुने प्रारम्भिक नापजाँच रहेको बताइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी फागुनभित्रमा तयार हुने भएकाले यसै आर्थिक वर्षमा बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ । आयोजनाले गिउँजे खोलाको पानीको मुहानमा ‘सेडिमेन्टेसन टङ्की’ र ‘रफिङ फिल्टर’बाट शुद्ध गरी १३ किमी पाइपलाइनबाट वडा नम्बर २६ को लप्सीडाडाँमा रहेको दुई लाख लिटर क्षमताका दुई वटा टङ्कीमा जडान गरी उपभोक्ताका घर घरमा पुर्‍याउने गरेको छ ।

आयोजनाले २४ सै घन्टा प्रतिव्यक्ति दैनिक १ सय लिटर नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी विवरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *