चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले १ सय ५० बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको छ । प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार राप्ती नगरपालिका–१२ को चात्राङ, नेत्राङ, धैराङ, पर्खाललगायतका स्थानमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
कार्यालयबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा यही पुस ५ गतेदेखि गाँजा नष्टका लागि गएको टोलीले सो क्षेत्रमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्लाको खैरहनी, राप्ती र इच्छाकामना गाउँपालिकाको पहाडी क्षेत्रमा अवैधरुपमा गाँजा खेती गर्ने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले गाँजा ओसारपसार गरेको अभियोगमा साउनयता ३५ जनलााई पक्राउ गरी कारबाही गरेको छ । यसअन्तर्गत १९ मुद्दा दर्ता भएको छ । ती व्यक्तिबाट बेचबिखनका लागि ल्याउँदै गरेको २ सय ५ किलो १ सय ८२ ग्राम गाँजा बरामद गरेको थापाले जानकारी दिए । जिल्लाको विभिन्न स्थानमा लगाइएका गाँजा बिक्रीका लागि ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।




