समाचार

बन्दाबन्दीमा पीडितले दिन पाएनन् उजुरी

खोटाङ । मानवअधिकार हननका घटना वृद्धि भए पनि यस वर्ष खोटाङका अधिकांश पीडितले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिन नपाएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनीहरुले जिल्लामा यस वर्ष मानवअधिकार हननका घटना गत वर्षको तुलनामा वृद्धि भए पनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीका कारण पीडितले न्यायका लागि सम्बन्धित निकायमा उजुरी दिन नपाएको बताएका हुन् ।

दिक्तेलस्थित हलेसी न्युज नेटवर्क प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै इन्सेक खोटाङका प्रतिनिधि रामधन राईले सन् २०२० मा जिल्लामा विभिन्न प्रकृतिका १८ मानवअधिकार हननका घटनाको मात्र अभिलेख रहेको बताए ।

प्रतिवेदनमा सो अवधिमा छ जनाको हत्या, एक बालिकाकासहित सात बलात्कृत तथा एक बालिका र एक महिलामा बलात्कार प्रयास भएको घटना समावेश गरिएको छ । इन्सेक प्रतिनिधि राईले विसं २०७६ चैत ६ गते स्थानीय विनोद राईको कुटाइबाट गम्भीर घाइते बनेकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी ३७ वर्षीया तुलसा कार्कीले अझै न्याय नपाएको बताइन् । “कुटपिटबाट पीडित बन्नुभएकी कार्कीले गत जेठ २० गते इलाका प्रहरी चौकी हलेसी र असार १६ गते जिल्ला अदालत खोटाङमा मुद्दा दर्ताका लागि उजुरी दिनुभएको थियो”, उनले भनिन्, “बन्दाबन्दीको कारण देखाउँदै सम्बन्धित निकायले उजुरी दर्ता गर्न नमानेपछि पीडित कार्कीले अझै न्याय पाएका छैनन् ।”

बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटनाको न्यूनीकरणमा सरोकारवालाको ध्यान जान आवश्यक रहेको हलेसी न्युज प्रालिका अध्यक्ष हरिवोल आचार्यले बताए । “इन्सेकले स्थानीय तहसम्म पुगेर मानवअधिकार उल्लङ्घनका घटना सङ्कलन तथा उजागार गर्न आवश्यक छ”, उनले भने, “इन्सेकले सामाजिक चेतना, कानूनी उपचार तथा न्याय दिलाउने कार्यमा सक्रियता बढाउनुपर्ने देखिन्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *