समाचार

उषाकला राईद्वारा ओलीको केन्द्रीय सदस्य अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने क्रम देशव्यापी रूपमा बढेको छ । संसद् विघटनसँगै पार्टीमा अल्पमतमा परेपछि रातारात कसैलाई पनि थाहै नदिई ओलीले ५५६ जना केन्द्रीय सदस्य थपेका थिए । अहिलेसम्म विभिन्न जिल्लाका दुई दर्जन बढीले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । जसले ओलीलाई निकै ठूलो झड्का लागेको छ ।

यसैक्रममा नेतृ उषाकला राईले ओली नेकपाको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । उनले बिहीबार बिहान विज्ञप्ति निकाल्दै त्यसको जानकारी दिएका हुन् । उनी र उनका पति शेरबहादुर तामाङ माधवकुमार नेपाल पक्षका थिए । तर, तामाङले पछिल्लो समय ओलीलाई साथ दिएका छन् । उनी ओली नेकपाको केन्द्रीय सदस्य पनि छन् ।

तर, उनकी श्रीमती राईले भने केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । जसले तामाङलाई समेत दह्रो झड्का लागेको छ । अहिलेसम्म तामाङ र राईले जे जति अवसर पाएका थिए सबै झलनाथ खनाल र माधव नेपालकै कारण सम्भव भएको थियो ।

उषाकला राईले जारी गरेको सूचनामा लेखिएको छ, ‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ, तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ। यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदश्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *